बैशाख ११, २०७७तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ पहेलपारका वासुदेव रेग्मी लामो समयदेखि नशाजन्य रोगको औषधि सेवन गर्दै आएका थिए । लकडाउनका कारण करिव १५ किलोमिटर टाढाको तुलसीपुर बजारमा उनलाई जान निकै गाह्रो थियो । सामाजिक सञ्जालबाट प्राप्त सुचनाका आधारमा उनले तुलसीपुर उपमहानगरपालिकाको टोलफ्रि नम्वरमा फोन गरे । फोन गरेको केही घण्टामै नगरप्रमुख घनश्याम पाण्डे औषधि वोकेर उनकै घरमा आए ।औषधि कहाँबाट ल्याउने भन्ने चिन्तामा रहेका रेग्मी घरमै औषधि पाउँदा निकै खुसी देखिन्थे । “औषधि सकिन लागेको थियो घरमै सेवा पाएपछि ढुक्क भए” रेग्मीले खुसी व्यक्त गरे । रेग्मी यस्तो सेवा लिने पहिलो दीर्घरोगी हुन् । उनलाई औषधि दिएर नगरप्रमुख पाण्डेले सेवाको सुरुवात गरेका हुन् ।
उपमहानगरपालिकाले दीर्घरोगीका विरामीहरुलाई घरमै औषधि पुर्याउने कामको सुरुवात गरेको नगरप्रमुख पाण्डेले भने । उनले लकडाउनका कारण विरामीहरु वजारसम्म आउन नसक्ने भन्दै उपमहानगरपालिकाको समन्वयमा घरसम्मै औषधि पुर्याउन लागिएको वताए ।दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोलफ्रि नम्वर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्म लैजाने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिए ।
“प्रेसर, सुगर र दमको औषधि हामीले निशुल्क रुपमा उपलब्ध गराएका छौ” केसीले भने । उनले वडा वडामा रहेका स्वास्थ्य केन्द्र मार्फत औषधि वितरण गरिने पनि वताए । औषधि आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफै आउन सक्ने या आवश्यकता अनुसार उसलाई घरमै औषधि पुर्याउने पनि उनले वताए ।
यसैविच अन्य दीर्घरोगका औषधि सेवन गरिरहेकाहरुलाई पनि उपमहानगरपालिकाले घरमै औषधि उपलब्ध गराएको छ । नेपाल फार्मेसी एसोसियसन दाङ्गका अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नशाजन्य, थाइराइडका साथै जटिलखालको मधुमेह लगायतका औषधिहरु घरमै पुर्याइने गरिएको हो ।“हामीलाई फोन सम्पर्क गर्नुभयो भने हामीले व्यवस्था गरेको फार्मिसिस्टले घरमै औषधि पुर्याइदिन्छ” अधिकारीले भने ।दीर्घरोगीलाई घरसम्म औषधि पुर्याए वाफत कुनै पनि अतिरिक्त शुल्क नलाग्ने पनि उनले जानकारी दिए । “फार्मेसीसँग सम्वन्धित व्यक्तिबाट औषधि पुर्याइने भएकाले आवश्यक परामर्श पनि दिइन्छ ” अध्यक्ष अधिकारीले वताए ।उपमहानगरपालिका भित्र २ हजार २ सय ३३ जना दीर्घरोगी रहेको जनस्वास्थ्य शाखाको तथ्यांक रहेको छ । जसमा १ हजार १ सय ६८ मुटुजन्य, ४ सय ३९ मधुमेह, ४ सय ५१ दमजन्य र अन्य १ सय ७५ जना विरामी रहेका छन् ।
