सिँजादर्पण काठमाण्डौ ।। मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ । दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो । मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । ८८ हजार ९ सय ६६ समर्थकबीच मेसीले खेलको ६४औं मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए ।
