मकवानपुर । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।प्रदेशमा लम्पी स्किन रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सप्ताहव्यापी खोप अभियान सुरु गर्ने तयारी गरेको हो ।मन्त्रालयले साउन २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको १३ जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । खोप अभियान अन्तर्गत प्रदेशका करिव ४० हजार गाई भैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने मन्त्रालयको लक्ष्य छ ।मन्त्रालयले गत साउन १० गते मन्त्रीस्तरीय बैठकबाट ‘लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन, २०८०’ कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
बागमती प्रदेशका १३ जिल्लामा रोगको संक्रमण फैलिन नदिन र संक्रमणको जोखिम नियन्त्रण गर्न खोप अभियानको तयारी गरिएको मन्त्रालयकी पशु चिकित्सक डा। सृजा वाग्लेले जानकारी दिइन् । उनका अनुसार रोगको संक्रमणको जोखिम तथा संक्रमणबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न खोप अभियान सञ्चालनमा मन्त्रालयले जोड दिएको हो ।
