सिँजादर्पण काठमाण्डौँ ।। यतिवेला सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रति पक्ष दल हरुविच समझदारी नहुँदा साउन १० गते यता प्रतिनिधिसभाले आफ्नो नियमित काम अघि बढाउन सकेको छैन।माथिल्लो सदन भनिने राष्ट्रिय सभाको बैठक शुक्रवार सत्ता पक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरूले अवरुद्ध गरे।
नाराबाजी र अवरोधका कारण वर्षको चार महिना बितिसक्दा पनि बजेट सम्बन्धी अत्यावश्यक बाहेक कुनै पनि नयाँ कानुन संसद्ले बनाउन सकेको छैन। तर सांसदहरूले भने बैठक अवरुद्ध भएको दिनमा समेत दैनिक दुई हजार भत्ता बुझ्ने गरेको पाइएको छ।सांसदहरूको पछिल्लो तलब ६६,०७० रुपैयाँ छ। त्यसबाहेक विशेष भत्ता, सञ्चार, विद्युत्, खानेपानी खर्च बापत उनीहरूले मासिक छ हजार अतिरिक्त रकम पाउँछन्। काठमाण्डूमा घर भएका सांसदले मासिक ९ हजार र नभएका सांसदले १८ हजार रुपैयाँ घर भाडा पाउँछन्।संसद् सचिवालयका अनुसार काठमाण्डूमा घर नभएका सांसदले मासिक ९०,०७० रुपैयाँ र उपत्यकामा घर भएका सांसदले मासिक ८१,०७० रुपैयाँ तलब बुझ्छन्।सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन अनुसार संसद्मा हाजिरी जनाएबापत प्रत्येक सांसदले दैनिक एक हजार भत्ता र थप एक हजार यातायात भत्ता पाउने व्यवस्था छ। यस्तो भत्ता सदन वा संसदीय समितिको बैठक बसेको दिन मात्रै उनीहरूले पाउँछन्।संसद् सचिवालयले सवारी सुविधा उपलब्ध गराएका बाहेक आफ्नै निजी सवारी साधन भएका वा नभएका सबै सांसदले बराबर एक हजार रुपैयाँ यातायात सुविधा पाउँछन्।“सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई सङ्घीय संसद्को कुनै सदनको वा कुनै समिति वा उपसमितिको वा दुवै सदनको संयुक्त बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधा बापत ९अनुसूची(१ बमोजिमको० रकम दिइनेछ,” ऐनमा भनिएको छ।संसद् सचिवालयका अनुसार सांसदहरूलाई उनीहरूको हाजिरीका आधारमा भत्ता दिइने गरिएको छ।यस्तो हाजिरी सदनको बैठक वा संसदीय समितिको बैठकमध्ये एउटा मात्रै गणना हुन्छ।सदन र समितिको बैठक एकै दिन बसेकोमा पदाधिकारी र सदस्यले एक दिनको मात्र भत्ता पाउनेछ। सदन र समितिको बैठक बापत छुट्टा छुट्टै भत्ता दिइने छैन,” ऐनमा भनिएको छ।जसअनुसार एक जना सांसद्ले एकै दिन संसदीय समितिको बैठकमा र संसद्को बैठकमा पनि हाजिर गरेका छन् भने एक ठाउँको मात्रै भत्ता पाउँछन्।सदन अवरुद्ध भएका दिन पनि सांसदहरूको हाजिरी भने हुने गरेको छ। हाजिरीका आधारमा उनीहरूले भत्ता पाउने भएका कारण संसद् बैठक नचले पनि सांसदहरूको भत्ता पाक्छ।सदन अवरुद्ध भएको दिन पनि सांसदहरूले भत्ता लिनु अनैतिक नभएको कतिपय सांसदहरूले तर्क गरेका छन्।सांसदहरूको काम नै कुनै पनि गलत काम हुन नदिन र राम्रो काम गर्नका लागि सरकारको ध्यानाकर्षण र खबरदारी गर्ने भएका कारण उनीहरूले त्यसका लागि पनि सदनबाट दवाब दिनुपर्ने अवस्था आउने उनीहरूको तर्क छ।तर पूर्व सांसद राधेश्याम अधिकारी त्यसलाई “पछौटे सोच” भन्छन्।सांसदहरूले बनाएको नियममा संसद् अवरुद्ध होइन चालू गर्ने भन्ने पो हुन्छ। सांसदहरूले आफ्ना विषय प्रक्रिया मार्फत राख्ने हो।
