सिँजादर्पण काठमाणडौँ ।। आज असोज ३ गतेका दिन नेपालमा नयाँ संविधान वनेको दिन विभिन्न कार्यक्रम गरि संविधान तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरता सम्बोधन गर्न सकिने बताएका छन् । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा रहेका सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाए । संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौं, सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ, प्रधानमन्त्री ओलीले भने,संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो, लिखत र मर्मअनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो ।प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको लडाईं भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए । अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाउँदै उनले वर्तमान सरकार सबै नागरिकलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न लागि परेको बताए । यो अवस्था अन्त्य गरेर मात्र समाजलाई समतामुलक बनाउन सक्छौँ, समतामुलक समाजबाट मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ,प्रधानमन्त्रीले भने, राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रो विकासको ढाँचालाई समावेशी बनाउनुपर्दछ ।ु

