सिजादर्पण १५ जेठ जाजरकोट । शनिबार रुकुम पश्चिम को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता रहेका जाजरकोटका एक किशोरको शव फेला परेको छ । योसँगै घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा फेला परेको शव भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ ।
जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए।
बेपत्तामध्ये यसअघि ३ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन्।
भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् ।
नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिकाको गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको थियो।
घटनाको पछि प्रहरीले वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
यता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
यस्तै दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
