सिजादर्पण काठमाडौं । यो बर्ष राजस्व असारमा ह्वात्तै बढेको छ। तीन महिना जति लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजस्व संकलन बढेको बताइएको छ ।अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ। गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको उल्लेख गरिएको छ ।
कोरोना महामारीले उद्योगधन्धा बन्दा ब्यापार प्राय ठप्प जस्तै भए पनि आर्थिक वर्ष सकिन तीन दिन बाँकी छँदा र असार २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आर्थिक बर्षमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान रहेको छ।समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो। यसपालि राजस्व संकलन पोहोरको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ। पोहोरको कुल राजस्व संकलन ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ थियो। यसबाट राजस्व संकलन पोहोरकै हाराहारी पुग्ने देखिएको छ।
शनिबारसम्म संकलन भएको राजस्वमध्ये ८६ अर्ब ७२ करोड रुपैयाँ स्थानीय तह र प्रदेशमा बाँडफाँट हुन्छ। यसअघि बन्दाबन्दी लम्बिँदै जाने तर करदातालाई कर तिराउन दबाब दिएको भन्दै सरकारको चर्को आलोचना भएको छ।
