जुम्ला जर्नल
तपाईंको सरुवा भयो हो ?’ उताबाट एक शुभचिन्तकको फोन आएपछि मैले अनभिज्ञता प्रकट गरेँ । फेरि उनैले थपे, ‘सञ्चार माध्यममा पूरै समाचार आइसक्यो ।’
मन्त्रालयको पत्र प्राप्त गरेकी पनि छैन। नबुझी के बोल्नु ! विश्वस्त हुन कार्यालयको इमेल खोल्ने प्रयास गरे तर खुलेन। मोबाइलबाट पनि खुल्छ कि भनेर पुनः प्रयास गरेँ, डाटा पनि चलेन। जुम्लामा नेटवर्क र इन्टरनेट त पटकपटक अवरुद्ध भइरहेकै हुन्छन्। केही समयपछि आधिकारिक जानकारी प्राप्त गरेँ। इमेलमा पत्र आइसकेको रहेछ ।
‘तपाईंलाई निजामती सेवा ऐनको दफा १८ (क) (३) बमोजिम जुम्लाबाट सरुवा गरिएको छ’ भन्ने बेहोरा पढेपछि भोलिपल्टै नयाँ जिम्मेवारीका लागि हिँड्ने योजना बनाएँ ।
कोरोना संक्रमणको जोखिम कम गर्न जिल्लामा क्वारेन्टिन, परीक्षण, जिल्ला भित्रिने र बाहिर जानेको सवारी पास, शान्ति सुरक्षाको व्यवस्था लगायतका तयारीमा हामी व्यस्त थियौँ। बाँकेको नेपालगन्जमा एकैपटक ४७ जनालाई कोरोना पोजेटिभ देखिएपछि ५ डिग्रीभन्दा कम तापक्रम रहेको जुम्ला खलंगाको माहोल तातेको थियो। वडावडामा छरिएर रहेका क्वारेन्टिनलाई अस्पताल नजिक रहेका सदरमुकामका पालिकामा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा रहने गरी व्यवस्थापन गर्न जिल्लास्तरीय एकीकृत क्वारेन्टिन बनाएका थियौँ। भारत तथा संक्रमण देखिएको जिल्लाबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राखी परीक्षण गरेर मात्र घर पठाएकाले जुम्लामा कोभिड पोजेटिभ जेठको दोस्रो हप्तासम्म शून्य थियो ।
डेढ वर्षभन्दा लामो समयसम्म बसेको जिल्ला र जिल्लावासीको मायाले होला, सरुवा भइसक्दा पनि सुरु गरेका काम असरल्ल छोड्न मनले मान्दै मानेन। त्यसैले म दिनभरि अफिसको काममै व्यस्त भएँ।
कोठामा पुग्दा रातको १० बजिसकेको थियो। किताब, कपडा, झोला र सुटकेस छरपस्ट कोठामा छरिएका थिए। कहाँबाट प्याक गर्न सुरु गर्ने होला, आफैँ बिलखबन्दमा परँे। यत्तिकैमा सशस्त्रका गणपति गगन श्रेष्ठको फोन आयो, ‘भारतबाट नेपालगन्ज, सुर्खेत हुँदै गाउँ फर्किंदै गरेका एक बस व्यक्तिहरूलाई राख्न तयार गरिएको क्वारेन्टिनमा गाडी लैजानै नदिन स्काभेटर लगेर बाटो खनी स्थानीयवासीले अवरोध गरेका छन्। हुलदंगा भइरहेको छ ।’ विदेशमा रहँदा गाउँ, वडा, पालिका, जिल्ला त के नेपालको नाम सुन्दा नै प्रिय लागेर मन पुलकित हुन्छ। परदेशको अत्यास स्वदेशको नामले मात्र पनि शान्त गर्छ। कोरोनाको डरले भौतारिँदै सीमा, नाका छिचोल्दै विपत्तिमा मातृभूमि खोज्दै आएका आफ्नै दाजुभाइ र दिदीबहिनीलाई ढाडस दिई क्वारेन्टिनमा राख्न सहयोग गर्नुको साटो यो वडा, त्यो वडा, यी मेरा, ती तिम्रा भनी कित्ता काट गर्ने गाउँले जमात देख्दा दिक्क लाग्यो ।
भोलि सबेरै निस्कनु छ। जबर्जस्ती किताब र कपडा प्याक गर्न लागँे। ७५ वर्षमा पहिलो पटक नागरिकता लिँदा थर्र हात कमाउँदै खुसीले हाँस्दा मुजा परेको टुथकली बस्नेतजस्ता गाउँ जाँदा र अफिसमा भेटेका पात्रहरूका अनुहार आँखावरिपरि घुमिरहे। हजुरबुवा हजुरआमा सहितको संयुक्त परिवारमा हुर्किएकी ‘म’ एक्लै बस्न डराउँथेँ। यही कोठा हो जहाँ म जिम्मेवारीलाई कर्म ठानी परिवारविहीन एक्लै, नितान्त एक्लै बसेँ। दिदी, भाइ, बहिनी र साथीहरूसँग रमाउने चञ्चल म मौन शान्त र संयमित भई तीज, दसैँ, तिहार लगायतका चाडबाड कार्यस्थलमै मनाएँ।
जुम्लामा सीडीओका रूपमा रहँदा-बस्दाका अनुभव र अनुभूतिले मात्र होइन, अन्य थुप्रै (राजनीतिक, सामाजिक, लैंगिक, शैक्षिक, सांस्कृतिक आदि) कारणले यो संस्मरण-दैनिकी-यात्रा पठनीय छ।
