सिँजार्दपण काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिव विप्लवले प्रचण्ड, बाबुरामहरूले क्रान्तिको कार्यदिशा विकास गर्न नसकेर साम्राज्यवाद–पुँजीवादलाई जित्न नसक्ने भयानक शक्ति देख्दै क्रान्तिकारी आन्दोलनबाट पलायन भएको बताएका छन् ।
बिहीबार चितवनमा आयोजना गरेको राष्ट्रिय स्तरको प्रतिनिधि प्रशिक्षणरभेलामा प्रमुख अतिथिका रुपमा प्रशिक्षण दिँदै महासचिव विप्लवले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्दै प्रतिक्रियावादी राज्यसत्ता, सत्ताले लादेको प्रतिबन्ध र दलाल पुँजीवादी ज्यादती चिर्दै एक स्तरको विजय हासिल गरेको पनि बताए ।
पार्टी कार्यदिशा र कार्यक्रम सही र प्रभावकारी भएकैले रातोखबर प्रकाशन गृहले लडाकु शक्तिको भूमिका निर्वाह गरेको विप्लवले बताए । जनसञ्चार क्रान्तिको अभिन्न अङ्ग भएको बताउँदै महासचिव विप्लवले भने, ‘हामी जित्छौँ । जनताका दुस्मनहरू हारिरहेका छन् । दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबीच जनतमसङ्ग्रह गराऊँ, हामी जित्छौँ, जनताले जित्छ ।’
वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति लडिरहेको कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने महासचिव विप्लवले बताए । माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा यी सबै मोर्चा महत्वपूर्ण रहेको प्रस्ट पारे ।
सञ्चार मोर्चा जनताका मित्र र शत्रु दुबै शक्तिका लागि महत्वपूर्ण शक्ति रहेकाले क्रान्तिकारीहरूले झुट र लुटमा टिकेको दलाल पुँजीवादका खराबी र वैज्ञानिक समाजवाद स्थापनाका लागि जनतामा सही सूचना पुर्याउन सधैँ प्रत्यत्नशील र अब्बल ठहरिनुपर्ने महासचिव विप्लवको भनाई थियो ।
देशभरका करिब ४० जिल्लाका प्रतिनिधि सहभागी राष्ट्रिय भेलारप्रशिक्षणमा सहभागी पत्रकारले कार्यक्षेत्रमा फर्किएर जनपक्षीय सञ्चारकर्मलाई जीवन व्यवहार बनाउँने प्रतिबद्धता व्यक्त गरे ।
