सिँजादर्पण,मङ्सिर ४ गते। निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ। मतदान अधिकृतले तोकेको मतदान केन्द्रको क्षेत्रभित्र प्रवेश गरेका मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ बजेसम्म मतदान अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने बताउनुभयो।
देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएका थिए। निर्वाचन आयोगका अनुसार १४१ अस्थायी मतदानस्थलमा भने शत प्रतिशत मतदान भएको छ। देशभर १५ स्थानमा मतदान स्थगित भएको छ। निर्वाचनका आयोगका अनुसार सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो। विभिन्न विवादपछि सो स्थानको मतदान स्थगित भएको आयोगले जनाएको छ।

यसबारे जानकारी गराउन आयोगले केही बेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ। त्यसअघि आयोगका पदाधिकारीहरू स्थगित गरिएका स्थानमा कहिले र कसरी पुनः मतदान गराउने भन्ने विषयमा छलफल गरिरहेका छन्।आयोगले छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको बताएको छ। आयोगको प्रारम्भिक रिपोर्टअनुसार देशभर करिब ६० प्रतिशत मत खसेको स्रोतको भनाइ छ। यद्यपि यसबारे अझै एकीन तथ्यांक आइनसकेको स्रोतको भनाइ छ।
निर्वाचनमा उत्साहजनक सहभागिता नहुनुमा प्रमुख राजनीतिक दलहरू नै मुख्य कारण भएको पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए। उनले दलहरूले गठबन्धन गरेका कारण मतदाताहरूले भोट नहालेको बताए। ुपहिलो कुरा नेपालको राजनीतिले युवा पुस्तामा वितृष्णा जागेको छ। जसका कारण उनीहरू भोट नै हालेनन्। अर्को कुरा गठबन्धनका कारण पनि मतदाताहरू मतदान गर्न रुचाएनन्,ु उनले अन्नपूर्णसँग भने।
त्यस्तै पूर्व निर्वाचन आयुक्त वीरेन्द्रप्रसाद मिश्रले कुनै पनि दलले बहुमत नल्याउने बताए। उनले अब पनि साझा सरकार नै बन्ने बताए। ुगठबन्धन दलको पनि बहुमत पुग्ने नपुग्नेमा शंका गर्न सकिन्छ। दलहरुले सोचेजस्तो मत नपाउनुमा उनीहरुको संकुचित सोच नै मुख्य कारण हो। गठबन्धनले दलका कार्यकर्ताहरु अलमलमा पनि परेकाले निर्वाचनमा उत्साहजनक सहभागिता देखिएन,ु उनले भने।
