सिँजादर्पण, दैलेख । पेट्रोलियम अन्वेषणका लागि दैलेखमा भइरहेको उत्खनन अन्तिम चरणमा पुग्न लाग्दा त्यहाँ प्राकृतिक ग्यास रहेको हुन सक्ने कैयौँ सङ्केतहरू भेटिएका अधिकारीहरूले बताएका छन्। तर प्राप्त नमुनाहरूको विश्लेषणपछि मात्रै व्यावसायिकरूपमा ग्यास उत्खननको सम्भावना रहे वा नरहेको थाहा हुने खानी तथा भूगर्भ विभागका विज्ञहरूको भनाइ छ।
उत्तरी छिमेकी चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको ड्रिलिङु अन्तर्गत ४,००० मिटर गहिराइसम्म उपकरणको सहायतामा खनेर नमुना निकाल्न सुरु भएको थियो। शुक्रवारसम्म ३,९४४ मिटर गहिराइसम्म ड्रिलिङ सकिएको विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।
बाँकी ५६ मिटर ड्रिलिङ छिटै सकिने आकलन गरिएको परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले बीबिसी न्यूज नेपालीलाई जानकारी दिए।
चीनको चाइना जिओलोजिकल सर्वेले दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम सक्ने फेब्रुअरी २८ सम्मको समयसीमा पाएको छ।
त्यहाँबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्क्योलका लागि अझै समय लाग्न सक्छ, त्रिपाठी भन्छन्। अहिले विभिन्न गहिराइबाट सङ्कलन गरिएका चट्टानका नमुना थप अध्ययनका लागि चीन पठाइने छ। त्यसको विश्लेषण समेतका आधारमा मात्रै त्यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने थाहा हुन्छ।
विभागका अनुसार चिनियाँ पक्षले दिने प्रतिवेदनबारे थप अध्ययन पछि मात्रै दैलेखमा व्यावसायिक रूपमा पेट्रोलियम पदार्थको उत्खननको सम्भाव्यता पत्ता लाग्छ।
प्रारम्भिक सङ्केत सकारात्मक
विभागका अधिकारीहरूका अनुसार ड्रिलिङका क्रममा उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेका सकारात्मक सङ्केतहरूु भेटिएका छन्। ड्रिलिङका क्रममा २,२०० मिटरको गहिराइबाटै ग्यास भेट्न सुरु भएको र त्यसभन्दा तलको गहिराइमा पनि विभिन्न तहमा ग्यास भेटिएको त्रिपाठी बताउँछन्।
अहिलेसम्मको ड्रिलिङको तथ्याङ्कहरूले सकारात्मक सङ्केतहरू दिएका छन्, त्रिपाठी भन्छन्। त्यहाँ ग्यास पहिचान गर्ने उपकरण राखिएका हुन्छन्। त्यहाँ समय समयमा २,२०० मिटरभन्दा तल गएपछि ग्यासहरू पहिचान भएका छन्। अहिलेसम्मको अध्ययन छ वा छैन भन्ने पत्ता लगाउने मात्रै हो। फेरि त्यो व्यापारिक महत्त्वको हो वा होइन भनेर छुट्ट्याउन चाहिँ थप अध्ययन र विश्लेषण हुन जरुरी हुन्छ। विभागका प्राविधिकहरूका अनुसार निश्चित गहिराइसम्म पनि कुनै सङ्केत नभेटिएको भए थप ड्रिलिङ नगर्ने तयारी थियो।
तर सकारात्मक सङ्केतहरू भेटिएका कारण चार किलोमिटर गहिराइसम्मै ड्रिलिङ गर्ने निर्णयमा परियोजना पुगेको त्रिपाठी बताउँछन्।
