दमौली, १८ भदौ । तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो ।
म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । समयमै पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन र सर्वसाधारणले खोला वारपार गर्न सास्ती भोग्दै आएका छन् ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनीयर सचिन श्रेष्ठले पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति देखिएको जानकारी दिनुभयो ।
दुई स्पानको पुलको लम्बाइ ७० मिटर छ । रु चार करोड ९० लाख ८२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको थियो । पुल निर्माण सम्पन्न भएपछि जिल्लाको भीमाद बजारका अलवा स्याङ्जाको मिर्मी र पाल्पाका सर्वसाधारण लाभान्वित हुनेछन् ।
