नेपालगञ्ज– बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना रिर्पोट (डिपीआर) तयार भइसकेको छ । सिमापारी भारतको रुपैडियाबाट कोहलपुरसम्म झण्डै साढे १८ किलोमिटर लामो दूरीको रेलमार्ग निर्माणका लागि भारतीय पक्षवाट डिपीआर तयार गरिएको हो ।
रेल सञ्चालनका लागि नेपालगञ्जको पश्चिम जयसपुर, इन्द्रपुर, गुरुवागाउँ, हवलदारपुर, रझेनाहुँदै कोहलपुरसम्म रेलको लिक विछ्याइने योजना रहेको रेल विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर तथा प्रवक्ता अमन चित्रकारले बताए ।
यसअघि भारतको गोरखपुर र गोण्डाका प्राविधिक टोलीले सो रेल सेवा सञ्चालनका लागि सर्वे गरेका थिए । भारत उत्तर प्रदेशका इञ्जिनीयर दिनेशकुमार तिवारी र सन्तोष त्रिपाठीले एक महीना लगाएर सर्वेको काम गरेका थिए ।
रेल गुड्ने लिकको रेखाकङ्नको काम सकेर प्राविधिक टोलीले लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँ तथा बस्तीको पहिचान लगायतका काम शुरु गरिसकेको छ ।
प्रवक्ता चित्रकारले रेलमार्गको काम दुवै देशका प्राविधिकले आ—आप्mनो देशको सीमासम्म गर्ने बताए । ‘दुवै मुलुकतर्पmको प्राविधिकको काम सकिएपछि रेलको लिक सीमासम्म जोडने योजना छ’, उनले भने । रुपैडिया—कोहलपुरसम्मको रेल सेवालाई नेपालगञ्ज—रुपैडिया सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुख्खाबन्दरगाह) सँग पनि जोडिने प्रवक्ता चित्रकारले बताए ।
रेल र जाँचचौकी सञ्चालनमा आएमा नेपाल र भारतबीच हुने वस्तु आयात निर्यातमा धेरै ठूलो सहजता हुने र भन्सारको काम पनि प्रभावकारी तथा व्यवस्थित हुने बताइएको छ । नेपालतर्फ प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात—निर्यातलाई सहज व्यवस्थापन गर्न यो एकीकृत जाँचचौकी कोशेढुङ्गा सावित हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यको विश्वास छ ।
