दमौली, २५ भदौ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।
जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा पनि १२ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परिसकेको छ । भ्रष्टाचारका उजुरीमध्ये ४२ उजुरी फछ्र्यौट भइसकेका छन् भने सात उजुरीमा भ्रष्टाचारजन्य कार्य भएको प्रमाण भेटिएकाले थप अनुसन्धान भइरहेको रिजालले बताउनुभयो ।
जिल्लामा भ्रष्टाचारजन्य सात उजुरीमध्ये चार स्थानीय तहमा, दुई भौतिक पूर्वाधारतर्फ र एक शिक्षातर्फ रहेका छन् । स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् ।
