खोटाङ, २५ भदौ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो ।
करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताउनुभयो । “कालोपत्र गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइसकिएको छ”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।”
दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मिटर चौडाइ रहने र तीन दशमलव ७५ मिटर भाग कालोपत्र गरिने सम्झौतामा उल्लेख छ । अठार महीनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी गत वर्ष असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।
