गलकोट, २६ भदौ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा देखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो ।
आयोगमा परेको भ्रष्टाचार सम्बन्धी उजुरीका आधारमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो र स्याङ्जा चौथो स्थानमा छन् । गत वर्ष बागलुङमा ४९ उजुरी दर्ता भएको थियो । तीमध्ये २६ उजुरी फछ्र्योट भएको आयोग क्षत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताउनुभयो ।
बागलुङपछि क्रमशः लमजुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर र मनाङ छन् । पहिलो स्थानमा रहेको कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभर कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्योट भइसकेको आयोगले जनाएको छ ।
जिल्लामा भ्रष्टाचारजन्य गतिविधि भएको भन्दै परेको उजुरीमा स्थानीय सरकार, भौतिक पूर्वाधार, विद्यालय, नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिसमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेकोलगायत उजुरी कार्यालयमा परेका छन् ।
