सोलुखुम्बु, ३० भदौ । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताउनुभयो । आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।
।
