बागलुङ, ३० भदौ । आर्थिक वर्ष ०७३/०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४/०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ ।
अदालतका अनुसार चालू आवमा पनि सम्बन्धविच्छेदका २२ वटा मुद्दा दर्ता भइसकेका छन् । गत वर्ष भदौ १ देखि नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्धविच्छदेका मुद्दा दर्ता हुनेक्रम बढेको अदालतका स्रेस्तेदार भेषराज पौडेलले बताउनुभयो ।
नयाँ कानूनले पुरुषलाई पनि सम्बन्धविच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकार दिएको छ । मुलुकी संहिता जारी भएकै वर्ष १०२ जना पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए । महिलाबाट भने जम्मा ९१ मुद्दा दर्ता भएका थिए ।
