काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकाले प्राथमिक तहमा खस भाषा र सस्कृतिमा आधारित पाठ्यक्रम निर्माण गरेको छ । खस भाषा र संस्कृतिलाई जर्गेना गर्ने उदेश्यले कक्षा १ देखि ३ सम्म पाठ्यसामग्री तयार गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले लागु गर्न लागेको नयाँ पाठ्यक्रमलाई काठमाडौंमा विज्ञहरुबीच अन्तरक्रिया गरेर सार्वजनिक पनि गरेको छ । भृकुटीमण्डपस्थित पर्यटन र्वोडको सभाहलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सत्यमोहन जोशी लगायतका विभिन्न संस्कृति र शिक्षाविदहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिंजा गाउँपालिकाका तर्फबाट संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेडाको उनबाट बनाइएको जुम्लाको राडी ओढाएर सम्मान गरिएको थियो । सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले सत्यमोहन जोशीका साथै भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीलाई पनि खरायोको उनबाट जुम्लामै बनाइएको टोपी लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले नेपाली भाषाको मूल उत्पति थलो नै सिंजा रहेको बताए । खस भाषालाई जगेर्ना गर्न पाठ्यक्रम नै बनाएर लागु गर्नु निकै सह्रानीय रहेको बताए । उनले खस भाषालाई जोगाउन कर्णालीमा यसको व्यापक प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कृतिविद सत्यमोहन जोशीले नेपाली भाषाको उद्गमस्थल सिंजा र सिंजा सभ्यतालाई जोगाउनुपर्नेमा जोड दिए । उनले यस्ता ऐतिहासिक धरोहरहरु जोगाउन नसकिएमा भाबी पिढीले सबै कुरा बिर्सन सक्ने बताए । खस भाषा र संस्कृतिलाई जोगाउन त्यसको बिकास गर्नुपर्ने उनको जोड थियो । संस्कृतिविद जोशीले आफूले खस भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा लामो समय बिताएको अवगत गराउँदै खस भाषाकै बारेमा पाँच भाग किताब पनि निकालेको जानकारी दिए । खस भाषालाई जोगाउन सबै अभियन्ताहरु एकजुट भएर लाग्नुपर्नेमा पनि उनले जोड दिए । उनले नेपालका अरु भाषा अहिले दैनिक बोलचालमा नरहेकोलेप्रायः मृत अवस्थामा रहेको उल्लेख गर्दै खस भाषा भने आजका नेपालीहरुले प्रयोग गर्ने कामकाजी भाषाका रुपमा रहेको जानकारी दिए । यो कुरा भावी पुस्तालाई समेत जानकारी दिनु जरुरी रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले सिंजाली खसहरु एक भएर मात्र खस भाषा संस्कृतिको बचाउ गर्न सकिने बताए । आफ्नो गाउँपालिकाले खस भाषा संस्कृतिको पाठ्यक्रम कक्षा १ देखि ३ सम्म लागु गर्ने पहिलो प्रयास गरेको भन्दै त्यसमा साथ दिन सबैमा अनुरोध गरे । प्राचीन समयमा बिशाल साम्राज्यकै रुपमा फैलिएको तर अहिले एउटा सानो गाँउमा मात्र सिमित हुन पुगेको भन्दै त्यसमा दुःख व्यक्त गरे । उनले सिंजाका विद्धवान कहलाउनेहरु समेत सहर बस्न थालेको र गाउँ भुल्न थालेकाले पनि यसको उचित संरक्षण तथा विकास हुन नसकेको बताए । यदि सिंजाकै अभियन्ताहरु नलागे अरुले खस भाषा, संस्कृतिको खोजी गर्न सम्भव नहुने उनको भनाई थियो । साथै उनले खसभाषा र सस्कृतिलाईविश्वविद्यालय तहमै लागु गरिनुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा सिंजा गाउँपालिकाले बनाएको पाठ्यक्रमकाबारे सिंजाको भैरव माध्यमिक विद्यालय नरकोटका शिक्षक छत्रमणी धितालले जानकारी गराएका थिए । यस पाठ्यक्रम खस भाषाका लुकेका शब्दहरुलाई खोजी गर्ने तथा जर्गेना गर्ने उद्देश्यले यो पाठ्यक्रम बनाइएको उनले बताए । पाठ्यक्रममा सिंजाको ऐतिहासिकता,सांस्कृतिक, भौगोलिक, धार्मिक, आर्थिक गरी ६ भागमा विभाजन गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सिंजाको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर रोकायाले खस भाषा नेपाली भाषाको जननी रहेको बताए । खस भाषालाई जोगाउनयो यो पाठ्यक्रम बनाइएको उल्लेख गर्दै यसका लागि आफूहरुले साथ दिने बताए । तर, अहिले बनाइएको पाठ्यक्रमलाईबालबालिकाको क्षमता र स्तर अनुरुप बनाउनुपर्ने उनले सुझाब दिए । अहिले बनाइएको पाठ्यक्रम अलि बृहत भएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै खस भाषाका अध्येता गोबिन्द नेपालीले खस भाषाका वर्णहरुलाई क्रम मिलाएर राख्दा राम्रो हुने सुझाब दिए ।
त्यसैगरीसिंजाका पत्रकार केबी गाउँलेले खस भाषामै सुझाब राख्दै भने, खस भाषा बचाउन्या भया सबै मान्ठ एकचोटी हातेमालो ग¥र्या पछि राम्रो हुन्या छ ।”
त्यस्तै कर्णाली सम्पर्क मञ्चका अध्यक्ष कमल खत्रीले खस भाषा साहित्यलाई बचाउने प्रयास सकारात्मक भएको र यसको अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने बताए ।
दैलेखको दुल्लु नगरपालिकाका कार्यकारी प्रमुख ज्ञानमणी नेपालले खस भाषा निकै बृहत रहेको तर अहिले संरक्षणको अभावमा यसको पहिचान नै गुम्न थालेको बताए । उनले दुल्लु सिंजा राज्यको शितकालिन राजधानी भएको जानकारी दिँदै दुल्लु र सिंजाकाबीच ऐतिहासिक सम्बन्ध रहेको बताए ।
