
सिजादर्पण ११ बैशाख काठमाण्डौ । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी छ ।दुवै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छन् । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने बचन दिएको बालुवाटार स्रोतले अनलाइनखबरलाई बतायो ।प्रधानमन्त्री ओलीले कानूनविदहरूसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।
सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो । तर, यसको पार्टीभित्र र बाहिर चौतर्फी विरोध भइरहेको छ ।
स्वयं नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन् ।
बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरू प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरूले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।
सांसदसँगको छलफल स्थगित
यसैबीच बुधबारबाट सुरु भएको नेकपा सांसदहरूसँग ओली र प्रचण्डको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित भएको हो ।
बुधवार प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल भएको थियो । छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरूलाई बताएका थिए ।अनलाइनखवरमा प्रकाशित छ ।
