दानबहादुर बुढा, सिजादर्पण २२ बैशाख मुगु । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनमा मारमा परेका समुदायलाई वितरण गरिदै आइएको राहतमा जताततै असन्तुष्टि देखिन थालेको छ ।मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ मा पनि राहतको गुणस्तरीयतालाई लिएर चर्को असन्तुष्टि पैदा भएको छ । वडामा बैशाख १२ गतेदेखि १६ गतेसम्म वितरण गरिएको राहत चामल कुहिएको र किरा लागेको भेटिएको छ ।
वडा नम्बर ११मा रहेका २३४ घर परिवार जस्मा २ जना स्वास्थ्यकर्मी, २ जना तिर्थसैन गौचनमा, ३ जना पूर्ण अपाङ्ग र ५८जना जेष्ठ नागरिकसमेतलाई गरी नेपाल खाद्यान्न संस्थान नाम लेखेका ३० केजीका २५० प्याक बितरण गरिएका चामल मध्ये १० बोरा कुहिएको पाइएकोले वडा अध्यक्ष अकवर शाहीको घरमा फिर्ता पु¥याइएको छ ।तर अन्य किरा लागेको भएपनि चामल केलाएर पानीमा धेरै पटक पखालेर स्थानीयवासीहरुले प्रयोग गर्नु परिरहेको बाध्यता पनि छ ।
बितरण गरेको चामल मध्ये धेरै कुहिएको र धेरै जनाको भागमा परेको चामलमा घुन नामको किरा पनि पाइएको छ । किरा छानेर केलाएर ३र४ पटक पानी पखालेर खाने गरेको र भात खादा अमिलो हुने गरेको स्थानीयवासीको गुनासो छ ।कुहिएको र किरा लागेको चामलको लेवलिङ्ग स्टिकरमा चामल भरेको मिति २०७५।१०।१ र ११।१ लेखिएका छन । तर कहिलेसम्म प्रयोग गर्न सकिने र म्याद जाने समय भने केही पनि लेखिएको छैन ।
राहतको चामलमा गुनासो आएपछि जिल्ला समन्वय समितिबाट अनुगमन गर्न जाँदा १० बोरा चामल कुहिएको र अन्य घरमा बुझ्दा किरा परेको पाइएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी भीमराज सेजुवालले बताउनुभयो ।

