सिजादर्पण १९ जेठ, दुल्लु । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडीटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ ।
तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । यद्यपि उनीहरुलाई गाउँपालिकाको कार्यालय नजिकै एकजनाको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । “भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टिनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके”, उनले भने, “बाध्य भएर कोरोना सङ्क्रमण अरूलाई नफैलियोस् भनेर यहाँ राखेका हौँ ।”
एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल
दैलेखको एकमात्र सुविधा सम्पन्न जिल्ला अस्पतालमा एक हप्ताका लागि इमर्जेन्सी वार्ड सिल गरिएको छ । कोरोना पोजेटिभ भएका एक युवा झुक्याएर इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठक बसी एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लाको महावु गाउँपालिकाका ती युवा भारतबाट नआएको झुटो रिपोर्ट दिँदै शनिबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार मधुमेह रोगी ती युवा दिनभर त्यस वार्डमा उपचारका लागि बसेको हुँदा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भनेर इमर्जेन्सी वार्ड बन्द गरिएको हो । यद्यपि सर्वसाधारणका लागि अन्य वार्डमार्फत सेवा दिन वैकल्पिक व्यवस्था गरिएको छ । ती युवाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राखिएको छ । ती युवालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
