२५ जेठ, डोटी । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।
मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।
