सिजादर्पण असार ९ काठमाडौं । कोही सांसद आफ्नो अभिव्यक्तिका कारण विवादित बन्छन् त कोही चर्चित । प्रतिनिधिसभा सदस्य रंगमती शाही जब बोल्नका लागि संसदमा उभिन्छिन्, धेरैको ध्यान उनीतिर तानिन्छ । कारण हो( शाहीको रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति ।शाही पिछडिएको क्षेत्र हुम्ला जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् ।हुम्लाबाट प्रत्यक्षतर्फ स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेसलाई झिनो ९४७० मतले हराएर चुनाव जितेका थिए । रंगमतीले चाहिँ समानुपातिकतर्फबाट हुम्लाको प्रतिनिधित्व गर्दै संसदको दैलो टेक्ने अवसर पाइन् । हिमाली भेगको सर्केगाड गाउँपालिका(४ निवासी ४६ वर्षीया शाही नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संसद हुन् ।
संसदमा बाक्लै बोलिरहने शाही कर्णालीवासीका समस्या मार्मिक ढंगले उठाउँछिन् । कहिले काठमाडौंका सडकका खाल्डाखुल्डी हेर्न स्कुटी चढेर सोह्रखुट्टेको सडकमा डुल्न प्रधामन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्छिन् ।मंगलबारचाहिँ रंगमतीले संसदमा बोल्ने क्रममा राष्ट्रपति कार्यालयमा कार्पेट फेर्ने पैसाले क्वारेन्टिनस्थलमा ढोकाको चुकुल फेरेको भए महिलाहरु बलात्कारको सिकार हुने थिएनन् भन्दै सरकारको आलोचना गरिन् । र, प्रधानमन्त्री ओली कोरोना संक्रमतिको टाउको गनेर बसिरहेको शाहीले आरोप लगाइन् ।
