सिजादर्पण,विराटनगर । बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा बताइन् । ‘संक्रमित भनेर हेला गरेजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ’ उनले भनिन् ।पेसाले स्वास्थ्यकर्मी ती संक्रमितले यस्तो बेला रोग प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोमा समेत आश्चर्य प्रकट गरिन् । ‘रुघा लाग्दासमेत चिल्लोपिरो खान दिनु हुन्न,’ उनले भनिन् ।
खानादेखि शौचालयको सरसफाइसम्म विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड उक्त केन्द्रले पूरा नगरेको उनले बताइन् । ‘केन्द्रमा भन्दा घरमै बस्यौं भने चाँडो निको हुन्छौं,’ उनले भनिन्, ‘श्रीमान् र परिवारजनसँग मलाई यहाँबाट लैजान अनुरोध गरेको छु, यहाँ रोगभन्दा तनावले मरिन्छ ।’केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए । ‘सकेसम्म राम्रै व्यवस्थापन गर्न खोजिएको छ, त्यही पनि बेलाबेलामा थाहा नपाएर यस्तो भइहाल्छ,’ बस्नेतले भने ।कमसल खालको पुरानो केराउ परेको र राम्रोसँग केलाउँदा पनि कुनैकुनैमा किरा भेटिएको उनले बताए । ‘पकाइसकेपछि पनि देखिएन,’ उनले भने, ‘बिरामीलाई वितरण गरिसकेपछि मटरकेराउ फुटेर किरा बाहिर निस्केको हो ।’ संक्रमितबाट गुनासो आउनेबित्तिकै त्यो सबै फाली पुनः अर्को पकाएर खुवाएको संयोजक बस्नेतले बताए ।केन्द्रमा दिनको चारै पटक शाकाहारी खाजा–खाना दिइने गरेको उनले जानकारी दिए । उनका अनुसार बिहान ७ र दिउँसो २ बजेको खाजामा कहिले रोटी–तरकारी, कहिले पुरी–तरकारी, कहिले पराठा र कहिले दहीच्युरा दिइन्छ । बिहान ११ र राति ८ बजेको खानामा दाल, भात, हरियो तरकारी, फलफूल, पापड र चिप्सलगायत दिइन्छ । ‘रोग प्रतिरोधक क्षमता बढाउन च्यवनप्राश, अश्वगन्धा र गुर्जो पनि दिन्छौं,’ बस्नेतले भने ।
अहिले ६० जना संक्रमित रहेको उक्त केन्द्रको व्यवस्थापन प्रदेश १ सरकारले हेर्छ । प्राविधिक जनशक्ति र अन्य सहयोग भने संघीय सरकारअन्तर्गतको कोसी अस्पतालले उपलब्ध गराउँछ ।कोभिड–१९ उपचार केन्द्रमा संक्रमितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। चुमनलाल दासले बताए । ‘प्रदेश १ सरकार अन्तर्गत उक्त केन्द्र रहे पनि त्यहाँ कार्यरत कोसीका चिकित्सकहरू र सरोकारवाला अधिकारीलाई संक्रमितलाई तोकेको मापदण्डअनुरूप स्वास्थ्यवर्धक खाना वितरण गर्न सुझाव दिएको छु,’ उनले भने ।
