सिजादर्पण,भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो ।टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिका प्रवक्ता एवम् वडा नं। ९ का अध्यक्ष शिवहरि सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायत छन् ।
प्रतिनिधि मण्डलले शनिवार बेलुकासम्म प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा अयोध्याको प्रसंग, माडीका धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वबारे छलफल गर्नुका साथै माडी कुसुमखोला र सुकुम्बासी चेपाङ समुदायको स्थायी बसोबासलगायतका विषयमा कुरा गरिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।‘हिजो प्रधानमन्त्री ज्यूले माडी अयोध्याबारे छलफल गर्नुपर्ने भो तपाईंसहितको टोली काठमाण्डौं आउनुस् भन्नुभयो, त्यसैले अहिले जान लागेको,’ नगर प्रमुख ढकालले अनलाइनखबरसँग भने ।गएको असार २९ गते भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले पर्साको ठोरी र चितवनको माडी क्षेत्र भगवान रामको जन्मभूमि भएको बताएपछि अहिले यो विषय चर्चामा छ ।
