सिजादर्पण,काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घरमा प्रयोग भएको सिंगल फेजको मिटर विस्थापित गरी स्मार्ट मिटर जडान सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन्।मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकामा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको सिंगल फेज र थ्री फेज गरी करिब एक लाख मिटर स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ। स्मार्ट मिटर जडानसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ।
स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ। मिटर रिडिङका कारण हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ। कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रण प्रभावकारी हुनेछ। स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ।
प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टीओडीं) मिटरलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ। यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन्। ६० हजार मिटर जडान भइरहेको छ। नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ।स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरिलाई हुने गरी जडान गरिनेछ। यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ छ। यसमा एसियाली विकास बैंकले सहुलितपूर्ण ऋण दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए। काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ। प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
