सिजादर्पण, काठमाडौं । पार्टी भित्र अल्पमतमा रहे पनि बहुमतलाई चुनौती दिँदै हिँडिरहेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने विकल्पलाई खुला नै राखेका छन्। पार्टीभित्र बहुमतका कारण पद छोड्नुपर्ने अवस्था आएमा विभाजन गरेर अघि बढ्ने विकल्पलाई ओलीले बलियो बनाउँदै लगेका छन्। ओलीको यो विकल्पमा मदन भण्डारी पत्नी राष्ट्रपति विद्यादेवी भण्डारीको बलियो समर्थन छ। यसअघि बहुमत पक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले हटाउन खोज्दा पनि ओलीले पार्टी फुटाउन प्रक्रिया अघि बढाएका थिए।
ओलीकै निर्देशनमा निर्वाचनमा आयोगमा नेकपा एमाले दर्ता प्रक्रियामा अघि बढेपछि प्रचण्ड र नेपाल पछि हटेका थिए। आजसम्म दुबै नेताले ओलीले नै एमाले दर्ता गर्न खोजेको भन्दै पार्टी विभाजन हुने खतराले आफूहरु पछि हटेको बताउँदै आएका छन्।
पार्टी विभाजनको विकल्पले त्यतिबेला अनिष्ट टरेपछि यो विकल्पलाई राष्ट्रपति भण्डारी संरक्षक रहेको संस्थाको सहयोगमा बलियो बनाउँदै लगेका हुन्। ओलीले राष्ट्रपति भण्डारी संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनबाट आफ्नो गुट विस्तार गर्दै गएका छन्, बलियो बनाउँदै गएका छन्। पार्टीका गतिविधिलाई वेवास्ता गर्दै ओलीले समूहले फाउण्डेसनलाई आफ्नो गुट विस्तार गर्ने बलियो ठाउँमा रुपमा उपयोग गरिरहेको छ। पार्टीभित्रको सदस्यता एकीकृत, नवीकरणदेखि प्रशिक्षणसम्मका कार्यक्रम भने प्रभावित छन्। तर ओली समूहका कार्यक्रम धमाधम भइरहेका छन्।
पार्टीका जिल्ला नेतृत्व, प्रदेश क्षेत्र, नगर नेतृत्व पनि मदन भण्डारी फाउन्डेसनका नाममा सक्रिय रहेको छ। समानान्तर गतिविधि गरिरहेको अवस्था छ। नेताहरुका अनुसार काठमाडौंमा जिल्ला संयोजकको जिम्मेवारीमा रहेका कृष्ण राईले पार्टीको काममा ध्यान दिएका छैनन। तर फाउन्डेसनमा सक्रिय छन्। नेकपाको जिल्ला अध्यक्ष भन्दा पनि फाउन्डेसनको अध्यक्ष बनेर हिँडेका छन्।
गत साउन ११ गते मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहले काभ्रेमा जिल्ला भेलाको आयोजना गरेको थियो। कोरोनाको कहरबीच चार–पाँच सय मानिस भेला गरेर नयाँ जिल्ला नेतृत्वसमेत चयन गरेको थियो।अहिले त्यही प्रकृतिको कार्यक्रम काठमाडौंमा भइरहेको छ। उपत्यका बाहिरका जिल्लामा पनि फाउन्डेसनको गतिविधि बढ्न थालेका छन्।
पार्टीभित्रको अन्तरविरोध चर्किइहेका बेला ओली समूहले फाउन्डेसनलाई विचार प्रवाह गर्ने थलो बनाएको नेताहरु बताउँछन्। बुधबार काठमाडौं जिल्ला कमिटीका संयोजक राईको अगुवाईमा पूर्वी क्षेत्रको गोकर्णेश्वर, कागेश्वर मनहरा र गोकर्णेश्वर तीन नगरपालिका समेटेर जोरपाटीमा त्यस्तै भेलाको भयो। रोचक त के छ भने यस्ता भेलामा स्थायी कमिटी सदस्यरहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललगायत नेताहरु सहभागी हुने गरेका छन्। ज्ञवाली काभ्रेको भेलामा पनि सहभागी भएका थिए। तर यस्ता भेलामा ओली गुटबाहेक अरूलाई खबर गरिँदैन। फाउन्डेसनले काठमाडौं क्षेत्रका सबैजसो स्थानीय तहमा भेला, अन्तरक्रिया कार्यक्रम गरिसकेको बाह्रखरीले जनाएको छ।
उसका अनुसार साउन ७ गते बूढानीलकण्ठ नगरपालिकामा फाउन्डेसनले वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। चन्द्रागिरि नगरपालिकामा साउन ११ गते भेला र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको त्यहाँको नगर कमिटीले जानकारी दियो। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, नेकपाका जिल्ला अध्यक्ष कृष्ण राई उपस्थित थिए।
त्यहाँ पनि प्रचण्ड र माधव नेपाल समूहलाई खबर गरिएन।साउन १७ गते टोखाले त्यस्तै प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो। नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीकरण विषय विचार गोष्ठी भनिए पनि कार्यक्रममा सरकार र पार्टी नेतृत्वको प्रतिरक्षा र बचाउ गरियो। कार्यक्रममा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित ओली पक्षका नेतामात्रै सहभागी थिए।
कीर्तिपुर नगरपालिकामा पनि फाउन्डेसनका नाममा ओली समूहले समानान्तर कार्यक्रम आयोजना गरिसकेको छ। साउन २३ गते कीर्तिपुर नगरपालिकामा पनि टोखा नगरपालिकाकै शीर्षकमा विचार–विमर्श गरिएको थियो। त्यहाँ पनि केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र काठमाडौंका जिल्ला संयोजक राई उपस्थित थिए। साउन २३ गते नै तारकेश्वर नगरपालिकामा पनि फाउन्डेसनको ब्यानरमा कार्यक्रम आयोजना भएको थियो। त्यहाँचाहिँ भिन्न प्रकृतिको, पत्रकारिता तालिम आयोजना भएको र टोखा र बुढानीलकण्ठ नगरपालिकालाई पनि समावेश गराइएको नेकपाका जिल्ला तहका नेता बताउँछन्।
