शान्ता कमली
लमजुङ
सिजादर्पण १४ भाद्र लमजुङ । हिमाली जिल्ला मनाङमा फापर खेती फस्टाउँदै गएको छ । धान, मकै र कोदो नफल्ने यहाँ फापर खेती राम्रो हुन थालेपछि किसानहरु हौसिएका छन् । फापरले उनीहरूलाई आत्मनिर्भर पनि बनाएको छ । यहाँका सबै गाउँपालिकाका किसानले फापर खेती गरेका छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिकाको साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फु बस्तीबाहेक तल्लो क्षेत्रमा फापर खेती राम्रो हुने गरेको स्थानीय विनोद गुरुङले बताए । मनाङमा यस वर्ष २ सय ९६ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएको छ । गतवर्ष २ सय ९२ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । आर्थिक वर्ष ०७४र७५ मा २ सय ८६ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएकोमा ५ सय ८ टन फापर उत्पादन भएको थियो । आर्थिक वर्ष ०७३र७४ मा २ सय ८६ हेक्टरमै खेती गरिएकोमा ५ सय २ टन उत्पादन भएको थियो । तल्लो मनाङभन्दा निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ । स्थानीयले यसलाई पर्यटनसँग जोड्दै खेती गरिरहेको पिसाङका याङडुङ गुरुङले बताए ।

‘हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई खुवाउँछौं । उनीहरू विशेष रूपले मन पराउँछन्।’ फापरको पिठोबाट तयार पारिएको ढिंडो र रोटी पोषिलो हुने स्थानीय बताउँछन् । गुरुङका अनुसार होटल व्यवसायीमा आबद्ध स्थानीयले प्रायः फापरको खेती गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरै जनाले होटल सञ्चालन गर्दै आएका छन् । यसबेला माथिल्लो मनाङमा फापर फुलिसकेको छ । पर्यटकले फापरको परिकारमात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । यहाँको फापर पुरानो रैथाने जातको हो । तराईमा तीते फापर र हिमालमा मिथे फापरको खेती हुने गर्छ । मनाङमा विगतका वर्षहरुमा यहाँको लोभलाग्दो फापर खेती हेर्न आन्तरिक र बाह्य पर्यटकहरू आउने गरे पनि यसवर्ष भने कोरोनाका कारण पर्यटक पुग्न सकेका छैनन् ।
समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिबेला फापरले सबैको मन तानेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका डिएसपी होमनाथ पन्थीले बताए । तल्लो क्षेत्रको नासों(१ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ(९ खाङसारसम्म फापर खेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायस् जेठ अन्तिम साता देखि असारसम्ममा बीउ छर्ने गर्छन भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम सातादेखिका त्तिकसम्ममा फापर काटेर थन्क्याउने गरिन्छ । श्रोत नयाँपत्रिका ।
