सिजादर्पण , विराटनगर । घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी नगरपालिका–४ थापाडाँगीमा एक दलित बालिकामाथि छिमेकीले निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । १२ वर्षीया फूलसरी मग्राती ९सार्की० माथि छिमेकीबाटै कुटपिट भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार सोमबार बिहान ११ बजेतिर भएको कुटपिटबाट बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको छ । बालिकामाथि स्थानीय ६० वर्षीय नन्दलाल श्रेष्ठ, श्रीमती ४७ वर्षीय निर्मला श्रेष्ठ र छोरा २३ वर्षीय अमीर श्रेष्ठले कुटपिट गरेको पाइएको एसपी खड्काले बताए । सुरुमा निर्मलाले थप्पड हानेको र त्यसपछि परिवारै धुरिएर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । बालिकाकी आफन्त दुर्गाकुमारी रोकाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुधबार जाहेरी दिएपछि घटना बाहिरिएको हो ।
दुर्गाकुमारीका अनुसार श्रेष्ठको घरमा बालिका फ्रिजमा आइस जमेको पानी लिन पसेकी थिइन् । सोह्र श्राद्धका बेला किन घरमा पसेको भन्दै कुटपिट गरेको उनले बताइन् । लडेर दुर्गाकुमारीकी ६ वर्षीया नातिनीलाई चोट लागेपछि घाउ सेक्न फ्रिजमा जमेको आइस निकाल्न भनेर फूलसरी श्रेष्ठको घरमा पसेपछि परिवारै लागेर कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । कुटपिट हुन थालेपछि बालिका चिच्याएको सुनेर छुट्याउन म गएँ,ु दुर्गाकुमारीले भनिन्, ुयस्तो गर्न हुँदैन भन्दा मलाई पनि लछारपछार पार्दै कुटपिट गरियो ।ु उनका अनुसार दुई महिना अगाडि पनि श्रेष्ठ परिवारले ६ वर्षीया नातिनीलाई घरभित्र पसेको भन्दै कुटपिट गरेका थिए ।
छिमेकीमा बस्दा सानातिना कुरामा समझदारी गर्नुपर्छ भनेर त्यतिबेला प्रहरीमा नगइकन चुपचाप सहेर बसेको दुर्गाकुमारीको भनाइ छ । तर अहिले पनि त्यस्तै घटना दोहोरिएपछि सहन नसकेर न्याय माग्न प्रहरी कार्यालयमा पुगेको उनले सुनाइन् । फूलसरी दुर्गाकुमारीकी नन्द हुन् । सानैमा आमाबुवा बेपत्ता भएपछि दुर्गाकुमारीले नै आश्रय दिएर उनलाई पालिरहेकी छन् । कुटपिटबाट घाइते भएकी बालिकाको उपचार र स्वास्थ्य परीक्षण उर्लाबारीकै मंगलबारे अस्पतालमा भएको छ । किटानी जाहेरी परेपछि प्रहरीले कुटपिटमा संलग्न अमीरलाई पक्राउ गरेको छ । उनका बुवाआमा नन्दलाल र निर्मला फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्नविरुद्ध जातिय छुवाछुत ऐन अन्तर्गत कारबाही अघि बढाउन घटनाको अनुसन्धान थालिएको जनाएको छ । कुटपिटको आरोप लागेकाहरुले भने श्राद्धका समयमा घरभित्र बालिका छिरेपछि सम्झाउने क्रममा केही भनाभन भएको र कुटपिट नगरिएको दाबी गर्दै आएका छन् । प्रहरी नियन्त्रणमा रहेका अमीरले छिमेकीसँग सधैं आउजाउ हुने गरेको र जातिय हिसाबमा कहिल्यै पनि विभेद नगरिएको जिकिर गरे ।कुटपिटबाट बालिकाको ढाडमा लागेको चोट । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारी ।
