सिजादर्पण काठमाडौं । उपत्यकामा थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिने तयारी छ। पहिलेकै स्वरूपमा निरन्तरता दिने कि मोडालिटीमा थोरै परिवर्तन गर्ने बारेमा गृह मन्त्रालयमा छलफलमा भइरहेको छ। अपरान्हसम्म टुंगो लाग्नेछ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गृहको निर्देशन प्रतिक्षा गरिरहेका छन्। गृहको निर्देशनपछि तीनै प्रजिअको बैठक बसेर सूचना जारी हुनेछ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको थियो।
त्यो निश्कर्षसहित तीनै जिल्लाका प्रजिअहरूले अनुमोदनका लागि गृह मन्त्रालयमा जानकारी दिएका छन्। बुधबार राति १२ बजे निषेधाज्ञा सकिने भएकोले बुधबार अपरान्हसम्ममा निषेधाज्ञा थपिएको सूचना जारी गर्ने तयारी छ। गृहमन्त्रालयले दिने निर्देशनका आधारमा निषेधाज्ञाबारे थप छलफल र निर्णय हुने जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिइन्।निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे छलफल गरिएको हो। मोडालिटीको टुंगो गृहले लगाउँदैछ। नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो।
मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो। उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको छ।उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। संक्रमण तीव्र हुँदै गएपछि लकडाउन खोलिएको दुई महिनापछि सरकारले फेरि निषेधाज्ञा जारी गरेको हो। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या चालिस हजार नाघिसकेको छ। अहिले उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी छ। सरकारले सुरुमा चैत ११ गतेदेखि झन्डै चार महिना लकडाउन गरेको थियो।केहि सेवामा भने खुकुलो गरिको श्रोतले जनाएको छ ।



