सिजादर्पण,काठमाडौँ ।अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।सरकारको प्रवक्तासमेतको जिम्मेवारीमा रहेका खतिवडाले शुक्रबार साँझ पदबाट संविधानबमोजिम राजीनामा दिएको थापाले बताए ।
![]()
संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनामात्र मन्त्री पदमा रहनसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्री बनेका खतिवडा त्यसरी नियुक्त भएको भदौ २० गते ६ महिना पुग्दै थियो । गत फागुन २१ गते दोस्रोपटक मन्त्री भएका उनले राष्ट्रियसभा सदस्यमा मनोनित नहुने भएपछि राजीनामा दिन लागेका हुन् । फागुन २० पहिला उनी राष्ट्रियसभा सदस्यको हैसियतमा मन्त्री पदमा थिए ।खतिवडाले आफ्नो कार्यकालमा नेपालको अर्थतन्त्रको आधार तयार पारिएको बताएका थिए । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा आफ्नो कार्यकालको समीक्षासहित प्रस्तुत भएका उनले भावी दिनमा नेपालको अर्थतन्त्र कसरी अगाडि बढाउने भन्ने सुझाव दिएको एक मन्त्रीले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले खतिवडालाई मन्त्रिपरिषद् बाहिर रहेर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ । उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन् ।
