सिजादर्पण चितवन। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा विरहीविरुद्ध राज्यविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतको मुद्दा भएकाले पक्राउ आदेश पालना गर्दै धनुषा पठाइएको हो । उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेपछि प्रक्राउ गरेर पठाएका हौँ । हामीले उहाँलाई धनुषा प्रहरीलाई जिम्मा लगाइसक्यौँ ।
चितवनको रत्ननगर– ५ घर भएका नेता विरही ढाडमा समस्या भएपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर भर्ना भएका थिए । गत २३ वैशाखमा अस्पतालबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पताल पुऱ्याएको थियो । तर, जिल्ला अदालत चितवनले शर्मालाई साधारण तारेखमा रिहा गर्न १८ जेठमा आदेश दिएको थियो । न्यायाधीश हेमन्त रावलको इजलासले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरि पक्राउ नगर्नसमेत आदेश दिएको थियो । अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकडसमेत नगर्न भनेको थियो ।
