सिजादर्पण काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले आफूपक्षीय सांसदलाई मंसिर २ गतेभित्र काठमाडौं आइसक्न सर्कुलर गरेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रचण्डले यस्तो सर्कुलर जारी गरेका हुन् ।प्रचण्डपक्षीय एक सांसदले मंसिर २ गतेभित्र काठमाडौं आइसक्न प्रचण्डको सचिवालयमार्फत आफूलाई जानकारी आएको बताए ।
‘परिस्थिति केही जटिल भयो । तपाईं मंसिर २ गतेभित्र काठमाडौं आउनुप¥यो,’ प्रचण्डको सचिवालयले फोनमार्फत गरेको आग्रह उद्धृत गर्दै ती सांसदले भने ।तिहारको समयमा किन आकस्मिक रूपमा काठमाडौं बोलाइयो भन्नेबारे भने प्रष्टसँग केही नबताइएको प्रचण्डपक्षीय अर्का एक सांसदले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने मुडमा प्रचण्ड–माधव समूह रहेको बताइन्छ । आफूपक्षीय सांसदलाई प्रचण्डले काठमाडौं बोलाउनुको कारण यही भएको कतिपयको अनुमान छ ।
संघीय संसदमा प्रचण्डपक्षीय ५३ सांसद् छन् ।पछिल्लो समय नेकपाभित्रको विवाद उग्र बनेको छ । प्रचण्ड र ओलीले एक–अर्कालाई आरोप लगाएपछि दुवै पक्ष क्रुद्ध बनेका छन् । यसले नेकपा फुटको संघारमा पुगेको अनुमानसमेत गर्न थालिएको छ ।
