सिजादर्पण जुम्ला । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशका सबै नागरिक र कर्मचारीको बिमा सुरक्षित गरिएको बताएका छन् । २३ औँ भूकम्प सुरक्षा दिवस अवसरमा जुम्लामा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्णालीबासीका सबै नागरिकको बिमा कार्यक्रमअन्तर्गत बिमा गरिन लागेको बताएका हुन् ।
कर्णालीका कोही पनि नागरिक विपद्बाट मृत्यु भए २ लाख रुपैयाँ रकम दिने बिमा प्याकेज प्रभावकारी र नमुना भएको उनको दाबी छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद्मा मृत्यु भए २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन थालिएको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग बिमा सम्झौता भइसकेकाले कार्यान्वयन सुरु भएको जनाएको छ ।
कर्णाली प्रदेशमा विपद् आइलागेर घर भत्किए १ लाख रुपैयाँ पाउने व्यवस्थाअनुसार हालसम्म १ हजार ३ सय घरलाई यस्तो रकम दिने निर्णय गरिएको छ ।कार्यक्रममा मन्त्री भण्डारीले जुम्लामा पर्वतीय प्रहरी प्रतिष्ठान सुरु हुने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा ठूलो योजना र उपहार दिने तयारी भइरहेको जानकारी दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सुर्खेतमा बाढीका कारण घर गुमाएका र अलपत्र परेका १ हजार ४५ घरमध्ये ६ सय १४ जना नागरिकको कर्णाली सरकारले घर निर्माण गरिदिएको बताए ।
कालीकोटको पलातालगायत क्षेत्रमा आगलागी हुँदा क्षति भएका घर निर्माण गरिएको हो । मन्त्री भण्डारीले दिवस अवसरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापना तीनै विषयमा जोड दिन आवश्यक रहेको बताए ।
प्रदेशसभा सांसद पदम रोकायाले अहिलेको विकास गर्दा विनासलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले डोजरले प्रकृतिलाई नास गर्दै आएको भन्दै होसियार हुन आवश्यक रहेको बताए । ‘अहिले नै कस्ता घर बनाउने हो । त्यस विषयमा नागरिक सचेत हुन सके ठूलो क्षतिबाट जोगिन सकिन्छ’, उनले भने ।प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भूकम्प सुरक्षाका लागि दीर्घकालीन योजना स्थानीय सरकारसम्म पु¥याउन आवश्यक रहेको बताए ।
दिवस अवसरमा नेपाली सेनाले घर आगलागी भएपछिको उद्धारको विषयमा डेमो प्रदर्शन गरेको थियो । नन्दाबक्स गणको विपद् विशेष टोलीले घर आगलागीपछि उद्धार तथा स्वास्थ्य चौकीसम्म पुर्याउने विषयमा भिडियो देखाएको थियो ।नेपाली सेना, सशस्त्र प्रहरीले प्रदर्शनीमा राखेको विपद्मा आवश्यक उद्धार सामग्रीको स्टल मन्त्री भण्डारी, सांसद रोकायासहित सरोकारवाला निकायका पदाधिकारीले अवलोकन गरे । कार्यक्रममा ‘म मेरो घर लगाउँदा भूकम्पमैत्री बनाउँछु’ प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको थियो ।
