सिजादर्पण,काठमाण्डौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले राष्ट्रियतमाथि ठूलो हमला भइरहेको बताएका छन् ।एमसीसीविरुद्ध जारी आन्दोलनबारे शनिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले देशमा ठूलो हमला भइरहेको भन्दै अमेरिकी सहयोग नियोग एमसीसी अघि बढाएमा देशमा आगो लाग्ने चेतावनी दिए ।
एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध प्रतिरोध गरिने चेतावनी समेत उनले दिए । ‘यो सरकारले एमसीसी पास गर्ने मूर्खता नगर्नु, छोटो समयको सरकार हो यो । यसअघि केपी ओलीले कोसिस त गरेका थिए तर पनि सकेनन्’, उनले भने ।एमसीसी जस्तो राष्ट्रघाती परियोजना संसदबाट पास गराएर इतिहासमा अक्षम्य अपराध नगर्न भन्दै उनले प्रचण्डलाई समेत बोलैमा समेत हुन आग्रह गरे ।
अहिले राष्ट्रियतामाथि ठूलो हमला भइरहेको छ । यदि एमसीसी अघि बढाएमा कडा आन्दोलन गर्छौँ । संसदीय भ्रष्ट तत्वलाई हामीले किन छुट दिने ? उनीहरुविरुद्ध प्रतिरोध गर्छौँ । यदि एमसीसी जवरजस्ती पास गरिन्छ भने देश जल्छ । आगो लाग्छ, आन्दोलनको आगो लागेका बेला के हुन्छ, शासकहरुले हेक्का राखुन्’, उनले भने, ‘अहिले प्रचण्डजी पनि त्यही गठबन्धनमा छन् । त्यसैले उनले पनि यसबारे बेलैमा नसोचे पछुताउनेछन्।’
उनले जनताकै विरोधका कारण अहिलेसम्म एमसीसी पास हुनबाट रोकिएको दाबी गरे । ‘हाम्रो विरोधले चाहेर पनि शासकले यसलाई पास गर्न सकेका थिएनन् । तत्कालिन शेरबहादुर देउवा सरकारले सुरु गरेको यो सम्झौता ओलीले पनि हाउसमा टेबुल गर्न सकेनन् । यो जनताको विरोधका कारण सफल भएको हो,’ नेता प्रकाण्डले भने ।
