नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न आज फेरि चुनाव हुने भएको छ। सोमबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि आज फेरि मतदान हुन लागेको हो।
केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अनुसार आज अपरान्ह ३स्३० बजेबाट दोस्रो चरणको मतदान गर्ने तयारी भएरहेको छ।आजको मतदानमा पनि हिजोजस्तै ३ मतदान स्थलमा मतदानको व्यवस्था गरिने छ।
यसै क्रममा पहिलो चरणमा ८२ मतले सभापतिमा निर्वाचित हुन असफल भएका शेरबहादुर देउवालाई दोस्रो चरणमा जित हात पार्न सहज हुने देखिएको छ।देउवाविरुद्ध पहिलो चरणमा सभापति पदमा प्रतिस्पर्धा गरेका चार जना नै मिल्दा पनि सबै मत कोइरालालाई नपर्ने भएकाले देउवा नै जित्ने अवस्था देखिएको हो।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न पहिलो चरणमा खसेको जम्मा ४६७९ मतमध्ये सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन्। जुन सभापति बन्न आवश्यक पर्ने २३४० मतभन्दा ८२ मत मात्रै कम हो।
देउवाको निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३४७, बिमलेन्द्र निधिले २७३ र कल्याण गुरुङले ३२ मत पाएका छन्।
यो संगै नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा। शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।
भेटका क्रममा डा। कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए । यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए ।
