सिँजादर्पण , काठमाडौँ । त्रिचन्द्र कलेज बचाऔं अभियानलाई ऐक्यवद्धता जनाउँदै विद्यार्थीहरूले मार्च गरेका छन् । नेपालकै जेठो त्रिचन्द्र कलेजको भवन जीर्णोद्धार गर्ने पहल नभएपछि विद्यार्थीहरूले मार्च गरेका छन्। शुक्रबार घण्टाघर, कलेज परिसरमा उनीहरूले मार्च गरेका हुन्।

२०७२ सालको भूकम्पमा जीर्ण उक्त भवनको जोखिमलाई हेर्दै रातो स्टिकर टाँसिएको थियो। भूकम्पको ६ वर्ष हुँदा पनि भवन निर्माण गर्ने सुरसार नभएपछि विद्यार्थी आफैं सडकमा उत्रिएका हुन्। उनीहरूले लगातर प्रदर्शन गर्दै आइरहेका छन्।

उनीहरूले इतिहास ढल्दैछ सरकार मौन छ’, ‘त्रिचन्द्र बचाऔं, इतिहास जोगाऔं’ भ्यु टावर चाहिँ बन्ने, त्रिचन्द्र चाहिँ नबन्ने’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै नेविसंघले दबावमुलक कार्यक्रम गर्दै आएको छ । अघिल्लो हप्ता नेविसंघले क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको कुरा त्रिचन्द्र नेवि संघका विद्यार्थी नेता प्रकाश खड्का तथा लोकप्रिय नेता सुरेन्द्र विस्वकर्माले जानकारी दिनुभयो ।

