सिँजादर्पण, काठमाडौं। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको जानकारी सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन्।निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ। यसअघि निर्वाचन आयोगले मङ्सिर २ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर बुधवार सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीचको छलफलपछि मङ्सिर ४ गते निर्वाचन गर्ने निष्कर्षमा सरकार पुगेको थियो।
निर्वाचनको मिति घोषणा भएपछि प्रतिनिधिसभा र प्रदेशसभा कायम रहन्छ कि रहँदैन भन्ने विषयमा प्रश्न उठेको छ।त्यसबारे प्रतिक्रिया दिँदै मन्त्री कार्कीहरूले पत्रकारहरूसँग भने, ूहाम्रो बुझाइ निर्वाचनसम्म प्रतिनिधिसभा कायम रहन्छ भन्ने छ।यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो।
निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न सकिने बताएपछि सरकारले आगामी निर्वाचन देशैभरि एकैदिन गर्ने निर्णय गरेको हो।मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले निर्वाचनमा मतदान गर्न पाउँछन्। उम्मेदवार हुन भने २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था छ।आगामी निर्वाचनमा दुईवटा निर्वाचन प्रणालीबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्।
