सिँजादर्पण, काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ बुधबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको छ ।
सुरुमा साँझ ६ बजे विश्वज्योति सिनेमा हलमा प्रचण्डले केही आफ्नै दलका नेतासँग बसेर ‘प्रकाश’ हेर्ने कार्यक्रम तय भएको थियो । तर, समयअभाव भन्दै उनको सचिवालयले प्रचण्डको समय साढे ७ बजेमात्रै खाली भएको बतायो । सचिवालयले दिएको समय अनुसार ‘प्रकाश’को निर्माणपक्षले साढे ७ बजे दरबारमार्गस्थित सिनेमा हलमा चलचित्र हेर्ने व्यवस्था मिलायो । तर, उक्त समयमा पनि प्रचण्डको सचिवालय अध्यक्ष राजनीतिक छलफलमा व्यस्त भएकाले समय निकाल्न नसक्ने बताएपछि अन्ततः प्रचण्डले बुधबार चलचित्र नै हेरेनन् ।
“अध्यक्षज्यू प्रकाश हेर्न निकै उत्साहीत हुनुहुन्थ्यो । तर, राजनीतिक छलफल, भेटघाट र मिटिङका कारण हेर्न पाउनु भएन,” चलचित्र प्रकाशका निर्माता महेन्द्र अधिकारीले भने, “सुरुमा उहाँको सचिवालयले उहाँलाई सिनेमा देखाउने प्रस्ताव लैजाँदा किन र के कारण चलचित्र प्रकाश हेर्ने भनेर जिज्ञासा राखेको थियो । तर, उहाँहरू चलचित्रले पाएको प्रतिक्रियाले अध्यक्षको समय मिलाउन तयार हुनु भएको थियो ।”
अझै पनि एकपटक चलचित्र देखाउने प्रयास गर्ने उनले जानकारी दिए ।दिनेश राउतले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेणु योगीलगायत कलाकार मुख्य भूमिकामा छन् । जुम्लामा खिचिएको चलचित्रले एक गरिब युवाले शिक्षक बन्न गरेको कथा पेस गर्छ ।
