सिँजादर्पण, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एउटी नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ । १७ वर्षीया ती बालिकाले आफूलाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ काठमाडौं प्रहरी परिसरमा उजुरी दिएको बताइएको छ । पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षणसमेत गराएको प्रहरीको भनाइ छ ।
यद्यपि, यो विषयमा प्रहरीले विस्तृत जानकारी उपलब्ध गराएको छैन । स्रोतका अनुसार यो घटना भदौ ५ गते रातिको हो । त्यसको भोलिपल्ट सन्दीप पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न ६ भदौमा नैरोबी उडेका थिए । सन्दीप हाल क्यारेवियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिजमा छन् । टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् ।
पीडित भनिएकी बालिका काठमाडौंको एउटा होस्टेलमा बसेर अध्ययन गरिरहेकी छात्रा भएको बताइन्छ ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार सन्दीपसँग उनी स्न्याप च्याट मार्फत जोडिएकी थिईन् । त्यसपछि उनीहरू इन्स्टाग्राममा समेत जोडिएका थिए । भदौ ५ गते साँझ सन्दीपले कफी खाने प्रस्ताव गरेको तथा आफूलाई लिन निजी कारमा होस्टेल नजिक आएको पीडित बालिकाको भनाइ छ । बालिका सन्दीपसंग तस्वीर लिन चाहन्थिन् । यद्यपि, सन्दीपले भने उनलाई कारमा बसेपछि भक्तपुर हुँदै नगरकोट पुर्याएको पीडित बालिकाको भनाइ छ ।
बालिकाले होस्टेल फर्किन जिद्दी गरेपछि उनीहरु राति करिब ११ बजे काठमाडौं आएको पीडित बालिकाको भनाइ छ । अबेर राति होस्टेल बन्द भएकाले सन्दीपले उनलाई तिलगंगा एउटा होटलमा बस्न आग्रह गरेको उनको आरोप छ । होटेलमा एउटै कोठामा बस्न बाध्य पारेको तथा मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ पारेर आफूलाई जबर्जस्ती करणी गरेको आरोपमा पीडित बालिकाको छ । प्रहरीले मंगलबार साँझदेखि नै पीडितको उजुरीमाथि कारबाही थालेको जनाएको छ । पीडित बालिकाको परिवारले केही दिन भित्रमा सम्पूर्ण घटना विवरण सार्वजनिक हुने बताएका छन् ।
