कात्तिक, काठमाडौं । खेलकुद र अध्ययनलाई एकैसाथ अगाडि लैजान सकिने संयन्त्र नभएकै कारण नेपालमा अहिले पनि अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई खेलाडी बनाउन हिच्किचाउँछन् ।तर, नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको एक उदीयमान खेलाडीको रुपमा आफूलाई स्थापित गरेकी सोनी पाख्रिनले यसलाई चुनौति दिएकी छन् ।गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटमा प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीका रुपमा सर्वोत्कृष्ट बलर बनेकी सोनीलाई नेपाल टिमको भविष्यका रुपमा हेर्न थालिएको छ । उनी तीव्र बलिङ गर्छिन् ।
सर्लाही, लालबन्दीकी १६ वर्षीया सोनी काठमाडौंको बौद्धस्थित लर्ड बुद्ध माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत छिन् । उनी कक्षाकी प्रथम छात्रा हुन् । पढाइ र खेलकुद दुवैलाई उत्तिकै महत्व र उपलब्धीका साथ एकसाथ अगाडि बढाउने उनको व्यवस्थापन कला पनि रोचक छ ।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सानैदेखि रुची राख्ने सोनीलाई विस्तारै क्रिकेटले आकर्षित गर्यो । ६ वर्षअघि दाइको साथीले ओसिस क्रिकेट एकेडेमी चिनाइदिएपछि उनको व्यावसायिक क्रिकेट बन्ने सपना जागृत हुन थालेको हो । परिवारको साथ र आफ्नो मिहिनेतबाट सोनी स्थापित क्रिकेटर बन्ने लक्ष्यमा छिन् । पहिलो प्रयासमै उनले पाएको यो सफलता उत्कृष्ट छ ।
सोनी परिवारसहित काठमाडौंमा बस्ने सोनीको दिनचर्या निकै व्यवस्थित छ । बिहान उठ्नेदेखि हरेक कुराको उनीसँग समय तालिका छ । विद्यालयबाट फर्किएर गृहकार्य सक्ने र एकेडेमीमा प्रशिक्षण गर्ने उनको ६ वर्षयताको दैनिकी हो ।
पढाइमा राम्रो भएका कारण पनि परिवारबाट उनलाई क्रिकेट सिक्न जान कहिल्यै रोकतोक भएन ।
आधा घण्टाको पैदल यात्रा गरी ओसिस नै जानुपर्ने आवश्यकता किन त रु
उनी भन्छिन्, ‘त्यहाँ महिला खेलाडीलाई प्रशिक्षण शुल्क लाग्दैन । ओसिस नै मेरो क्रिकेटको सुरुवाती पाठशाला हो ।’
कक्षामा प्रथम हुने विद्यार्थी भएकै कारण अरुले उछिन्ने हो कि भन्ने चिन्तामा छिन् । अहिलेसम्म समय व्यवस्थापन गर्न सकेकोमा उनी सन्तुष्ट छिन् । ‘पढ्ने बेलामा पढाइमा ध्यान दिने अनि खेल्ने बेला खेलमा ध्यान दिने भए आफैं मिल्दो रहेछ,’ उनले थपिन् ।
ओसिसले दिएको पहिचान
१० वर्षकी सोनीले राम्रोसँग बल समाउन जानेकी थिइनन् । त्यहि हातलाई क्रिकेटको महिला क्रिकेटको भविष्यका रुपमा सम्भावना देखाउने गुरु हुन्– राष्ट्रिय टिमका पूर्व सदस्य राजेश पुलामीमगर ।
महिला क्रिकेटको उत्थानका लागि र महिला खेलाडी उत्पादनका ओसिसले चालेको निशुल्क प्रशिक्षण कार्यक्रमको परिणामका रुपमा सोनी देखिएकी छन् । ‘म अहिले जे छु त्यो मेरो परिवारको साथ र ओसिसको प्रशिक्षणले नै हो,’ सोनीले भनिन् ।
बागमतीबाट पाएको अवसर
अघिल्लो वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीको टिमबाट अवसर पाएकी सोनीले ३ खेलमा १ विकेट लिएकी थिइन् । राम्रो प्रदर्शन गर्न नसके पनि सो प्रतियोगिताले उनलाई आत्मविश्वासी बनायो ।
नवौं राष्ट्रिय खेलकुदमा बागमती टिमका प्रशिक्षक सामसनजंग थापाले उनलाई टिममा फेरि अवसर दिए । तीव्र बलरको सीमिततालाई चिर्दै उनले आफूलाई प्रमाणित गरिहालिन् ।
बागमती टिमले खेलेको पहिलो खेलमा सोनीले सुदुरपश्चिमविरुद्ध ५ विकेट लिइन् । यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । प्रतियोगिताभर हरेक खेलमा विकेट लिन सकिन् । नवौंमा बागमतीले कांस्य पदक जित्दा उनले सर्वाधिक १२ विकेटसहित सर्वोत्कृत बलरको व्यक्तिगत पुरस्कार पाइन् ।
‘बागमतीको टिममा राम्रो वातावरण छ । एकले अर्कोलाई समर्थन र हौसला दिनुहुन्छ । त्यसैले पहिलोपल्ट राष्ट्रिय खेलकुदमा दवाव महशुस गर्नुपरेन,’ उनले थपिन् ।
सोनीसहितको बागमती प्रदेशको क्रिकेट टिम । तस्वीर स् दिपेश पण्डित
सोही प्रदर्शनका आधारमा सोनीले आईसीसीअन्तर्गतको एमसीसीको नेपाल भ्रमणका क्रममा क्यान ११ को टिममा अवसर पाइन् ।
सो प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाइन् । ‘आङ सिरिङ्ग भयो । मेरो सपना पूरा भएको अनुभव भयो,’ घरेलु क्रिकेटमा सोमपाल कामीकी प्रशंसक सोनीले भनिन् ।
उनको सपना भनेको राष्ट्रिय महिला टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई जिताउने हो ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता इण्डियन प्रिमियर लिग ९आईपीएल० खेल्ने लक्ष्यमा छिन् । अर्को सिजनदेखि महिलाको आईपीएल आयोजना हुने घोषणा भइसकेको छ ।
उनले यस पटक एमसीसीको नेपाल भ्रमणका क्रममा राष्ट्रिय टिमका सिनियर खेलाडीसँग धेरै सिक्ने मौका पाएको बताइन् । ‘सिनियर टिमको दिदीहरुबाट धेरै नयाँ कुरा सिक्ने मौका पाएँ,’ उनले आफ्नो प्रदर्शनलाई धेरै खेलाडीले प्रशंशा गरेकोमा खुसी लागेको बताइन् ।
यू(१९ छनोट खेल्दा अन्तिम परीक्षा छुट्यो
कक्षा ९ को अन्तिम परीक्षाको बेला सोनीको यू १९ को राष्ट्रिय छनोट प्रतियोगिता थियो । खेल कि पढाइ रु भन्ने द्विविधाले उनलाई लामो समयसम्म सतायो ।
तर, खेलकुदमा लाग्न प्रेरित गर्ने स्कुलले सोनीको दुःख बुझेरै राष्ट्रिय टिमको छनोट सकिएपछि मात्र परीक्षा दिने व्यवस्था मिलाइदियो ।
सोनी भन्छिन्, ‘त्यो बेला विद्यालयले मलाई नबुझिदिएको भए साह्रै गाह्रो हुन्थ्यो ।’
उनलाई क्रिकेट खेल्न विद्यालय व्यवस्थापनले पनि निकै सहयोग गरिरहेको छ । त्यो छनोट पार गरी आइसीसी विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पुगेकी थिइन् । प्रारम्भिक छनोटमा परे पनि अन्तिम टिममा अटाउन सकिनन् ।
