काठमाडौं । बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन्
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो ।तर न्यायाधीश घिमिरेले लामिछानेलाई थुनामा पठाउनुपर्ने निष्कर्षसहित ८ पृष्ठको आदेश–पर्चा जारी गर्दा बलात्कार अभियोगबारे चाहिँ विवेचना गरेका छैनन् । बरु सन्दीप पक्षका कानुन व्यवसायीले पीडित किशोरीको उमेरमाथि प्रश्न गरेपछि त्यससम्बन्धी कागजात झिकाउन आदेश दिएका छन् ।
उनले लामिछानेका कानुन व्यवसायीले प्रस्तुत गरेका किशोरीको जन्मदर्ता अभिलेख किताबको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन भनेका छन् । किशोरीले नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपी पनि अदालतले मगाएको छ ।आदेशमा ७ मंसिरमा बकपत्रका लागि जाहेरीकर्ता, पीडित, बुझिएका मानिस र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बोलाएको छ । यसका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत उपस्थित गराउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गर्न आदेश भएको छ ।
