सिँजादर्पण, ८ वैशाख, काठमाडौं । कीर्तिमानै कीर्तिमान बनेको खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्यो । कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो । यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो । जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो ।
सन्दीपको विश्व कीर्तिमान
३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । १३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६र११ हो । सन्दीपले ओमान विरुद्ध ३ विकेट लिए ।
ओमानका लागि भेट्रान मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ९९ रनमा ५ विकेट गुमाएको ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए ।अर्धशतकबाट ४ रनले चुकेका गौडले ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८।३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २२ रन मात्र खर्चेर १ विकेट लिए ।
