सिँजादर्पण काठमाण्डौ ।। रुमेनियास्थित एउटा आवासीय भवनमा रुसी ड्रोन ठोकिएको र सो भवनमा आगो लागेको रुमेनियाको रक्षा मन्त्रालयले बताएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।रुसले सीमानजिकै युक्रेनी भूभागमा आक्रमण गर्ने क्रममा प्रहार गरेको सो ड्रोन पूर्वी सहर गालाट्समा खसेको मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ।रुमेनियाको आपत्कालीन सेवा प्रदान गर्ने निकायका अनुसार ड्रोनमा भएका सबै विस्फोटक पदार्थ पड्किएका थिए र आवासीय भवनको दशौँ तलमा आगलागी भयो।
विगत चार वर्षदेखि जारी युक्रेन युद्धका क्रममा रुसी ड्रोनहरू बाटो बिराएर कैयौँ पटक रुमेनियामा खसेका छन्। तर रुसी ड्रोनका कारण अहिले रुमेनियामा पहिलो पटक क्षति पुगेको हो। रुमेनिया नेटोको सदस्य राष्ट्र हो।उक्त घटनाका कारण चोटपटक लागेका दुई जनाको उपचार गरिएको र आगो नियन्त्रण गर्ने क्रममा झन्डै ७० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
यो घटनाबारे रुसले टिप्पणी गरिसकेको छैन। तर रुमेनियाले यसलाई रुसी पक्षबाट तनाव बढ्ने गरी भएको ूगम्भीर र अनुत्तरदायीू घटना भनेको छ।रुमेनियाली रक्षा मन्त्रालयका अनुसार यसबारे नेटोका महासचिवलाई जानकारी गराइसकिएको र चाँडै ड्रोन प्रतिरोध गर्ने क्षमता उपलब्ध गराउन अनुरोधू गरिएको छ।सामाजिक सञ्जाल एक्सुमा विज्ञप्ति प्रकाशित गर्दै नेटोका एक प्रवक्ताले रुसको लापरबाहीूको आलोचना गरेका छन्।
उनले नेटोले ड्रनसहित सबै खतराविरुद्ध हाम्रो प्रतिरक्षालाई निरन्तर सुदृढू बनाउने जनाएका छन्।रुमेनियाको आकाशमा ड्रोनहरू देखा परेपछि दुइटा एफ(१६ लडाकु जेटहरू परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ।रुमेनियाली हवाई क्षेत्रमा छिरेको तीमध्येको एउटा ड्रोनलाई रेडारले गालाट्स सहरसम्म ट्र्याक गर्यो। त्यो एउटा आवासीय भवनको छानामा गएर बज्रियो र आगलागी भयो,रक्षा मन्त्रालयले भनेको छ।
