सिँजादर्पण,सांसद अमरेशकुमार सिंहले बोल्न नदिए कपडा खोल्ने जानकारी पहिल्यै सभामुखलाई दिएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्न नपाएपछि कपडा खोलेर विरोध जनाएका स्वतन्त्र सांसद सिंहले दुई मिनेट बोल्नसमेत समय नपाएको गुनासो गरेका हुन् । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु भनेर सभामुखलाई आग्रह गरेँ । दुई मिनेट पाउने हो त्यो समय पाऊँ,’ उनले फेसबुकमा लेखेका छन्, सभामुखलाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’
सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए । सभामुखले संसद् नियमावलीको कारण देखाउँदै अमरेशलाई बोल्न नदिने बताएपछि अमरेशले शुरूमा सर्ट खोलेका थिए । त्यसलगत्तै उनले भित्री वस्त्र समेत खोलेका थिए ।
सभामुखको कार्यशैलीको विरोधमा सांसदले कपडा खोलेको यो पहिलो घटना हो ।
