सिँजादर्पण, चितवन— भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष–२०२४ को आज शुक्रबार नारायणगढ नारायणी किनारमा हुने औपचारिक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूसमेत रहेका सत्ता पक्ष र प्रमुख प्रतिपक्षका मुख्य नेताहरू सहभागी हुने भएका छन् ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार साँझ नै भरतपुर आइसकेका छन् ।सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बिहीबार नै चितवन आइसकेका छन् । सत्तारुढ घटक कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदैछन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्वप्रधानमन्त्री देउवा आज ११ बजेतिर भरतपुर आउने कार्यक्रम रहेको बताए । त्यसैगरी नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज मध्यान्ह चितवन आउने बताए । भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री ओली आजै मकवानपुर लाग्ने पनि न्यौपानेले बताए ।
चितवन–२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पनि भ्रमण वर्षको उद्घाटन कार्यक्रममा आउने छन् । भरतपुर महानगरपालिकालका मेयर रेनु दाहालले भ्रमणको उद्घाटन कार्यक्रममा मन्त्रि परिषदका पूर्व अध्यक्षसमेत रहेका खिलराज रेग्मी पनि सहभागी हुने बताएकी छन् । महानगरमा दोस्रो कार्यकाल चलाउँदै गरेकी रेनु प्रधानमन्त्री दाहालकी छोरी हुन् ।
उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्याली र झाँकीहरुले बजार परिक्रमा गर्ने छ । उद्घाटन कार्यक्रममा ५० हजार जना सहभागी हुने मेयर दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्धेश्य राखेको उनले बताइन् । भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने उनले जानकारी दिइन् ।
भरतपुरको आडमा दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज र प्रख्यात धार्मिक स्थल देवघाटधाम छ । भ्रमण वर्षका लागि महानगरले प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानव निर्मितसमेत गरेर भरतपुरभित्र २२ वटा पर्यटकीय गन्तव्य तय गरेको छ ।
