सिँजादर्पण, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन तोडेर सरकारको नेतृत्व गर्न कांग्रेसले गरेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ । माओवादीले आफूसँगको गठबन्धन तोडेपछि कांग्रेसले नयाँ बनेको गठबन्धन तुहाउने प्रयास स्वरूप एमालेलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको थियो । ‘कांग्रेसबाट औपचारिकरअनौपचारिक प्रस्ताव आएको थियो, हामीले अहिले बनेको नयाँ समीकरण फेरबदलमा लाग्दैनौं भन्यौ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकान्तरसँग भने, ‘सत्ताबाट बाहिरिएको आवेगमा कांग्रेसबाट विभिन्न प्रस्ताव आइरहेका छन् । हामी नयाँ बनेको गठबन्धनलाई नै मजबुत बनाउन लाग्छौं । आफूसँगको गठबन्धन हठात तोडेपछि कांग्रेसले माओवादी बाहेकको वैकल्पिक समीकरणको प्रयास थालेको छ । यसैक्रममा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष समेत लिएर सरकारको नेतृत्व गर्न एमालेलाई प्रस्ताव गरेको हो ।
नयाँ गठबन्धन बलियो बनाउने प्रयासस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओली विगतको तिक्तता बिर्सँदै मंगलवार नेकपा एसका अध्यक्ष माधव नेपालको निवासमा पुगेका थिए । नयाँ गठबन्धन भत्काउन हुने सम्भावित प्रयासबारे दुई अध्यक्ष पहिलैदेखि जानकार हुनुहुन्छ, हामी कच्चा खेलमा लाग्दैनौं,’ एमालेका अर्का एक पदाधिकारीले भने । फागुन २० मा एमाले–माओवादीसहितको नयाँ समीकरण बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मध्यरातमा एमाले अध्यक्ष ओलीकोमा दूत पठाएर मिल्न प्रस्ताव गरेका थिए । नयाँ समीकरण बनेदेखि नै यसलाई तुहाउन कांग्रेस नेताहरू सक्रिय भएर लागेका छन् ।
नयाँ समीकरण बनाउने बेला आफूलाई थाहा नदिइएको भनेर असन्तुष्ट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन कांग्रेस सभापति शेरबहादुर देउवा बुधवार बिहान उनको निवास पुगेका थिए । त्यहाँ पुगेर देउवाले माधव नेपाललाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका स्रोतले बतायो । प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेस विश्वासको मत लिने बेला बहुमत पुर्याउन नदिने रणनीतिमा लागेको छ ।
माओवादी–एमालेसहितको गठबन्धन भत्काउने प्रयास स्वरूप कांग्रेसले रास्वपालाई समेत सरकारको नेतृत्व गर्नका लागि प्रस्ताव गरेको चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसँग सहकार्यको निर्णय गरेका थिए । सोही दिन प्रचण्डले कांग्रेसका मन्त्रीलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।
