सिँजादर्पण काठमाडौँ,। मुलुकमा सेवा र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी एफडिआई स्वीकृत भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ अनुसार सुरुदेखि हालसम्म विदेशी लगानी धेरै स्वीकृत भएका उद्योगमा पर्यटन र सेवामूलक उद्योग रहेका छन् । सर्वेक्षण अनुसार सुरुदेखि हालसम्म छ हजार १११ उद्योगमा चार खर्ब ७८ अर्ब ८५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएकोमा सबैभन्दा धेरै दुई हजार ६४ वटा पर्यटन उद्योगमा एक खर्ब सात अर्ब ४५ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै दोस्रो सेवामूलक उद्योगमा दुई हजार ४५ उद्योग स्वीकृत भएकोमा एक खर्ब ३० अर्ब ४४ करोड रुपियाँ प्रतिबद्धता आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस्तै उत्पादनमूलक एक हजार ३२३ उद्योग स्वीकृत भई ७४ अर्ब ७२ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै कृषि तथा वनजन्य उद्योग तीन सय दर्ता भई आठ अर्ब ४७ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै १४४ वटा सूचनामूलक उद्योगमा १३ अर्ब चार करोड रुपियाँ स्वीकृत भएको छ । ९२ वटा ऊर्जामूलक उद्योगमा १३ अर्ब ७३ करोड लगानी स्वीकृत भएको छ । सबैभन्दा कम ७५ वटा खनिज उद्योगमा आठ अर्ब ३३ करोड विदेशी लगानी स्वीकृति भएको छ । सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७।२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७।२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२।४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५।६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ । २०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४।४ प्रतिशत र भारतको २२।२ प्रतिशत रहेको छ । लगानी स्वीकृत सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ३८।७ प्रतिशत र भारतको १३।८ प्रतिशत रहेको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत विदेशी मुलुकमा भित्रिने गरेको पाइएको छ ।यसैबिच चालु आवको फागुुनसम्म तीन लाख ३९ हजार कम्पनी दर्ता भएका छन् । गत आवको सो अवधिमा १५ हजार १८७ कम्पनी दर्ता भएका थिए । दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड सबैभन्दा बढी ९६।९ प्रतिशत र अन्य ३।१ प्रतिशत रहेका छन् । चालु आवको बजेटमार्फत कम्पनी दर्ता निःशुल्क गरेसँगै दर्ता सङ्ख्यामा उलेख्य वृद्धि भएको हो ।
