सिँजादर्पण, काठमाडौं । युएईबाट नेपाल फर्किएका युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिएका छन्।एसएसपी खनालले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जानकारीसमेत दिएका छन्।
युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले लछारपछार र दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। प्रहरीको व्यवहारबारे सार्वजनिक रूपमा आलोचना र आपत्ति आएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय उनीहरूलाई कारबाही गर्न दबाबमा आएको छ।
युएईबाट फर्किएका ओझालाई आइतबार बिहान ११ बजेतिर प्रहरीले लछारपछार पारेर आगमन कक्षभित्र लगेको भिडियो भाइरल बनेपछि विमानस्थल प्रशासन आलोचित बनेको थियो।
